सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपा) का सभापति रवि लामिछानेले हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताएका छन्। साथै, उनले आफूहरूसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिने कुरा समेत सम्झाएको धारणा राखेका छन्।
मंगलबार जेनजी आन्दोलनको वर्ष दिन पुगेको अवसरमा वक्तव्य जारी गर्दै उनले एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका आफूहरूलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण भएको पनि उल्लेख गरेका छन्। साथै, उनले अघिल्लो वर्ष भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् भन्ने कामना पनि गरेका छन्। त्यस्तै जेनजीको आँधीले कोरेको मार्गबाट एक इन्च पनि वितलिन नहुने बताएका छन्।
‘राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता, जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो त्यो परम्परागत राजनीतिक शैलीप्रतिको प्रस्ट अस्वीकृति पत्र थियो‚’ उनले लेखेका छन्‚‘त्यो आन्दोलनले एउटा जबर्जस्त सन्देश दियो ः यो पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता हो र यसलाई अब कुशासन मञ्जुर छैन।’
साथै, उनले कुनै दल विशेषको आह्वानमा नभएको उक्त आन्दोलनलाई कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने धारणा राखेका छन्।
‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ‚’ उनले लेखेका छन्।
सभापति लामिछानेले जागरणको आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढ संकल्प पनि व्यक्त गरेका छन्।












