नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी गरेको छ। महाधिवेशनका लागि सभागृहको हल, लबी, पार्किङस्थल तथा बगैँचा उपलब्ध गराइदिन कांग्रेसले आग्रह गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहका प्रमुखलाई सम्बोधन गर्दै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालन गर्न ६ दिनका लागि सभागृह बुकिङ गरिदिन पत्राचार गरेका छन्।

नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

सोही महाधिवेशनको तयारी तथा सञ्चालनका लागि असोज १५ देखि असोज २० गतेसम्म ६ दिनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा राष्ट्रिय सभागृह उपलब्ध गराउन दुलालले आग्रह गरेका छन्।