गृहमन्त्री सुधन गुरुङले नागरिकले अनावश्यक दुःख भोग्न नपरोस् भनेर आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै उनले विगतमा नेताहरूले गर्ने भाषणको संस्कार परिवर्तन गर्न आफूहरू सरकारमा आएको दाबी गरे।
गुरुङले विगतमा लामो समयदेखि नेताहरूले आकर्षक भाषण गर्दै आए पनि त्यसको परिणाम जनताले भोग्नुपरेको बताए। अहिले भने काम गरेर देखाउने नेतृत्व चयन भएको उनको भनाइ थियो।
उनले सरकारमा रहेका आफूहरूलाई कार्यालय समय सकिएपछि घर जाने हतार नरहेको पनि बताए। नागरिकलाई दुःख नहुने गरी कति काम गर्न सकियो भन्ने कुरालाई प्राथमिकता दिएको उनले बताए।
‘हामीले आज कति नागरिकलाई दुःख हुनबाट जोगाउन काम गर्यौं भन्ने कुरा नै महत्वपूर्ण हो। त्यसैलाई आधार बनाएर काम गरिरहेका छौं,’ गुरुङले भने, ‘थाकेपछि मात्रै आराम गर्छौं। घडीको समय हेरेर काम रोक्ने पक्षमा हामी छैनौं, कामको परिणाम हेरेर अघि बढ्छौँ।’












