राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको उल्लेख गर्दै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल हुने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरेका छन्।
उनले कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा अस्थिर र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य रोक्ने कारण नबनाउन नहुने बताए।
‘कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र अस्थिर एवं जोखिमपूर्ण परिस्थिति हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई अवरुद्ध गर्ने वा परित्याग गर्ने कारण बन्नुहुँदैन,’ राष्ट्रपति पौडेलले भने।
उनले विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकहरूप्रति समेत दुःख व्यक्त गर्दै सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रपति पौडेलले उद्धार गरिएका नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा अन्य जोखिममा रहेका नागरिकलाई विशेष संरक्षण आवश्यक रहेको उनको भनाइ थियो।
त्यस्तै, मृतकहरूको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्नेमा उनले जोड दिए। आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखेर पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनुपर्ने उनले बताए।
प्राकृतिक विपत्तिका कारण घरबारविहीन, विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई राज्यको साथ र भरोसा आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए।
‘पीडितका गुनासो र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु,’ उनले भने ।
राष्ट्रपति पौडेलले पछिल्लो विपत्तिले हिमाली पर्यावरणको नाजुक अवस्था र बढ्दो विश्वव्यापी तापक्रमबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए । उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष ठोस कदम चाल्न आह्वान गरे।
उनले विपत्तिको समयमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
उनले अबको समय पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा केन्द्रित हुनुपर्ने भन्दै विकासको मोडेलमाथि समेत पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याए।












