मानव अधिकार तथा शान्ति समाजले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र उनले सम्पादन गर्ने 'जनआस्था' पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। 

समाजले प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकमाथि भएको हस्तक्षेप निन्दनीय रहेको जनाएको छ।

समाजकी सभापति रेनुका पौडेलले साउन २८ गते जारी गरेको विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई साउन २७ गते राति वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख छ। 

प्रेसबाट कुनै त्रुटि भएको खण्डमा नियामक निकायहरूमार्फत निरूपण गर्ने कानुनी विधि विद्यमान हुँदाहुँदै पत्रकारलाई नै गिरफ्तारी गर्नु आपत्तिजनक भएको समाजको ठहर छ।

त्यसैगरी, गिरफ्तारीपश्चात् बिहीबार बिहान जनआस्थाको कार्यालयमा प्रहरीले छापा मारी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिनु दुराशययुक्त भएको समाजले जनाएको छ।'साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटर सहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय छ,' विज्ञप्तिमा भनिएको छ, 'दुराशययुक्त देखिन्छ, जुन प्रेस स्वतन्त्रता, मौलिक हक र नेपालको संविधानको उल्लङ्घन हो। तसर्थ शान्ति समाज पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेस माथिको आक्रमण बन्द गर्न सरकारलाई आग्रह गर्दछ।'

यो कार्य प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक र नेपालको संविधानको ठाडो उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ। समाजले पत्रकार श्रेष्ठको तत्काल रिहाइ र प्रेसमाथि भइरहेको यस्तो आक्रमण अविलम्ब रोक्न सरकारसँग माग गरेको छ।

विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनाले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको र धारा १९ ले सञ्चारको हक प्रत्याभूत गरेको स्मरण गराइएको छ। संविधानको धारा १९ को उपधारा २ ले सञ्चार माध्यमलाई बन्द गर्ने, जफत गर्ने वा दर्ता खारेज गर्ने तथा त्यस्तो सामग्री जफत गर्न नपाइने संवैधानिक प्रत्याभूति दिएको विज्ञप्तिमा उल्लेख छ। 

त्यस्तै, नेपाल राज्य पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा १९ तथा पत्रकारिताको विशेष प्रिभिलेजसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई पनि समाजले जोड दिएको छ। पत्रकारहरू आफ्नो सूचनाको स्रोत खुलाउन बाध्य नहुने विश्वव्यापी मान्यताको ख्याल गर्नुपर्ने बताउँदै समाजले प्रेसमाथिको धरपकड लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ।