रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ।
थबाङ –५ बोटलबारामा बुधबार रातिको पहिरोले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दूरीमा पर्दछ।
पहिरोमा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थलमा गएराति नै प्रहरी टोली परिचालित भएका थिए। बिहीबार बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो।
उहाँले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरुको टोली घटनास्थलमा पुगेर बेपत्ताहरुको खोजी जारी राखेको बताउनुभयो।












