मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका तीन जना र कारको खोजी कार्य जारी रहेको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले मङ्गलबार बिहानदेखि सुनकोसी नदीमा बेपत्ता भएका व्यक्ति र कारको खोजी गरिरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार २० जना गोताखोर, २० जना नेपाल प्रहरी र दुई वटा डुङ्गाको प्रयोग गरी खोजी कार्य भइरहेको भए पनि अहिलेसम्म बेपत्ता व्यक्ति र कार फेला पर्न सकेका छैनन्।
उहाँले भन्नुभयो, “सुनकोसी नदीमा पानीको बहाव (करेन्ट) अत्यधिक भएकाले खोजी कार्य कठिन भएको छ। बेपत्ता व्यक्ति र कारको खोजीमा स्थानीयवासीले पनि सहयोग गरिरहेका छन्।”
जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिएको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार करिब ५० फिट तल सुनकोसी नदीमा खसेको थियो।
दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय निर्माण व्यवसायी दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय स्काभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९, डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलम्पाकी मगर कारसहित नदीमा बेपत्ता भएका छन्।
यसैबिच, बेपत्ता व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कारबाही गर्न माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध गरेका छन्।
उनीहरूले गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गरेपछि यातायात अवरुद्ध भएको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो।
उहाँका अनुसार बस चालकको लापरबाहीका कारण सडक किनारमा रोकिएको कारलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। प्रहरीले बस चालक र बसलाई सोमबार नै नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।












