सुनकोशी नदीमा कारसहित बेपत्ता भएका चार जनामध्ये दुई जनाको पहिचान खुलेको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–५ का पूर्णबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का २८ वर्षीय गणेश थापा तथा वतन नखुलेका दुई जना कारसहित नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोली खटिएको छ।
सोमबार खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्ग ठक्कर दिँदा कार सडकबाट करिब ३० मिटर तल सुनकोशी नदीमा खसेको थियो।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको गोताखोरसहितको टोलीले अहिले कार र बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको छ।




















