विराटनगरका प्रतिष्ठित उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले बिहानै छापा मारेको छ। अवैध रूपमा ठुलो परिमाणमा नगद सञ्चित गरी राखेको र गैरकानुनी कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालयअगाडि रहेको मुन्दडाको निवास र देवनरा समूहको कार्यालयलाई प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि नै घेरा हाली नियन्त्रणमा लिएको थियो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा टोली खटिएको छ। 

प्रहरी हरी स्रोतका अनुसार मुन्दडामाथि विगत लामो समयदेखि अवैध हुण्डी कारोबार र कर छलीमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। 

प्रकाश मुन्दडा विराटनगरको प्रतिष्ठित व्यापारिक घरानाका सदस्य हुन्। उनी मोरङ व्यापार संघका पूर्वअध्यक्ष हुनुका साथै हाल नेपाल उद्योग परिसंघ कोशी प्रदेशको उपाध्यक्षसमेत हुन्।

प्रहरीले छापा मारी कागजात तथा आवश्यक सामग्रीको अनुसन्धान थालेको छ। छापा मार्नुको विस्तृत विवरण र बरामद कागजातबारे प्रहरीले आधिकारिक जानकारी दिन बाँकी छ।