सिरहाको लहान नगरपालिका–१५ शोभापुर निवासी तेज नारायण सदायको परिवारमा असामान्य शारीरिक अवस्थासहित एक शिशुको जन्म भएपछि परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन्।
तर आर्थिक अवस्था कमजोर भएकाले आवश्यक उपचार गराउन कठिनाइ भइरहेको परिवारले जनाएको छ। उपचारका लागि लाग्ने खर्च जुटाउन नसक्दा परिवार थप समस्यामा परेको भन्दै सम्बन्धित सरकारी निकाय, सामाजिक संघ–संस्था तथा सहयोगी मन भएका व्यक्तिहरूसँग सहयोगको अपिल गरिएको छ।
स्थानीयवासीहरूले पनि घटनाप्रति चासो व्यक्त गर्दै शिशुको उपचारका लागि सरकार र सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन्। शिशुको स्वास्थ्य अवस्था तथा असामान्य शारीरिक अवस्थाको प्रकृतिबारे थप चिकित्सकीय विवरण आउन बाँकी रहेको बताइएको छ।




















