श्रम सस्कृति पार्टी बेलबारी नगर कमिटिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसमा सरसफाई तथा वृक्ष रोपन कार्यक्रम सम्पन्न भएको छ। सुनसरीमा भएको घटनामा ज्यान गुमाएका मृतक तथा देशका विभिन्न आन्दोलन र अप्रिय घटनामा जीवन गुमाएका सहिदहरूको सम्झनामा बेलबारी बहुमुखी क्याम्पस परिसरमा मौनधारण, सरसफाइ र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
श्रम संस्कृति पार्टी बेलबारी नगर कार्यसमितिका अध्यक्ष पर्वत राईले पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले साउन १६ का लागि तय गरिएको नियमित श्रमदान कार्यक्रम स्थगित गर्ने निर्णयको सम्मान गर्दै यस दिन गीत–संगीतसहितको श्रमदान नगरी मृतकप्रति श्रद्धाञ्जलीस्वरूप मौनधारण, सरसफाइ र वृक्षारोपण गरिएको बताए।

अध्यक्ष राईले बेलबारी बहुमुखी क्याम्पस परिसरमा यसअघि श्रमदानमार्फत रोपिएका सुपारीका बिरुवालाई व्यवस्थित रूपमा स्थानान्तरण गर्ने अभियान पनि सञ्चालन गरिएको बताए । करिब २०० देखि ३०० वटा सुपारीका बिरुवा उचित दूरी कायम गरी सार्दा बिरुवाको वृद्धि तथा उत्पादनमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको अध्यक्ष राइले बताए ।
बेलबारी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्र प्रसाद कोइरालाले हालसम्म करिब ७ हजार सुपारीका बिरुवा र २०० वटा फलफूलका बिरुवा हुर्काइएको जानकारी दिँदै पाँचदेखि सात वर्षभित्र यी बिरुवाबाट वार्षिक न्यूनतम ४० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा रहेको बताए। उक्त आम्दानी क्याम्पसको शैक्षिक तथा प्रशासनिक विकासमा खर्च गरिने प्रमुख कोइरालाको भनाइ छ ।

क्याम्पस परिसरको करिब ३ बिघा होचो क्षेत्रलाई भविष्यमा ठूलो पोखरी तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको पनि प्रमुख कोइरालाले बताए । त्यस क्षेत्रमा माछापालन गर्ने तथा अगाडिको १५ कठ्ठा जग्गामा पढ्दै कमाउँदै कार्यक्रममार्फत विद्यार्थीलाई तरकारी खेतीमा संलग्न गराई आयआर्जनको अवसर सिर्जना गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
क्याम्पसमा रोपिएका अधिकांश बिरुवा दाताहरूको सहयोगबाट प्राप्त भएको उल्लेख गर्दै कोइरालाले शोकको समयमा सिर्जनात्मक ढंगले सरसफाइ र वृक्षारोपण कार्यक्रम सञ्चालन गरेकोमा श्रम संस्कृति पार्टी बेलबारी नगर कार्यसमिति प्रति आभार व्यक्त गरे।

बेलबारी बहुमुखी क्याम्पस २०६५ सालमा स्थापना भएको र हाल व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा करिब ६ सय विद्यार्थी अध्ययनरत छन्।
क्याम्पससँग नेपाल सरकारबाट भोगाधिकार प्राप्त ४ बिघा ३ कठ्ठा ७ धुर राष्ट्रिय वन क्षेत्रको जग्गा रहेको छ। सरकारी शर्तअनुसार २० प्रतिशत क्षेत्र मात्रै भौतिक संरचनाका लागि प्रयोग गर्न मिल्ने र बाँकी क्षेत्र हरियाली कायम गर्नुपर्ने भएकाले वृक्षारोपण अभियानलाई प्राथमिकता दिइएको छ।





















