सुनसरीको कप्तानगन्ज घटनाको ‘साइड इफेक्ट’ सुरक्षा निकायमा पनि परेको छ। झण्डा झिक्ने र राख्ने निहुँमा शुरू भएको द्वन्द्व अहिले सुनसरीमात्रै नभई सप्तरी, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ।
‘हिन्दू र मुसलमान’ भन्दै धार्मिक रंग दिएर साम्प्रदायिक हिंसा भड्काउने प्रयास हुन सक्ने आकलनपछि ती जिल्लामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। गृहमन्त्री सुधन गुरुङ अहिले सिरहामा छन्। उनी बिहीबार नै सुनसरी पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।
बदलिँदो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले पनि विभिन्न प्रदेश र जिल्लामा उच्च तहका प्रहरी अधिकृतलाई फिल्डमा खटाएको छ।
सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन, प्रहरी जनशक्ति र स्रोत–साधन परिचालनको मूल्याङ्कन गर्न, आवश्यक नीति निर्देशन दिन, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्न तथा सूचना संकलन र विश्लेषण गरी सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने जिम्मेवारीसहित उनीहरूलाई परिचालन गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिए।
उनका अनुसार स्थानीय स्तरमा उत्पन्न समस्या तथा गुनासो सुन्ने, परिस्थिति नियन्त्रणबाहिर जान नदिई समयमै सामान्य अवस्था कायम गराउने तथा आवश्यक विवरण प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन गर्ने जिम्मेवारी उनीहरूलाई दिइएको छ।
प्रहरी प्रधान कार्यालयले खटाएका अधिकृतमध्ये प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धिविक्रम शाहलाई बाँकेको जिम्मेवारी दिइएको छ भने हिमालयकुमार श्रेष्ठलाई मधेश प्रदेश, उमाप्रसाद चतुर्वेदीलाई कपिलवस्तु तथा ईश्वर कार्कीलाई कोशी प्रदेशसहित सुनसरीको जिम्मेवारी तोकिएको छ।
यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यलाई सिराहा र अबिनारायण काफ्लेलाई सप्तरी खटाइएको छ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोपालचन्द्र भट्टराईलाई सर्लाही, सोमेन्द्रसिंह राठौरलाई पर्सा, दीप शम्शेर जबरालाई रौतहट, नवराज अधिकारीलाई चितवन, कृष्णप्रसाद पंगेनीलाई महोत्तरी, होबिन्द्र बोगटीलाई बारा, ज्ञानेन्द्रप्रसाद फुयाँललाई मोरङ, भुवनेश्वर तिवारीलाई धनुषा तथा अमरेन्द्रबहादुर सिंहलाई समग्र मधेश प्रदेशको जिम्मेवारी दिइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै सम्बन्धित जिल्लाको सुरक्षा अवस्था निरन्तर अनुगमन गरिनेछ भने आवश्यकताअनुसार थप जनशक्ति र स्रोत–साधनसमेत परिचालन गरिनेछ।
यता, सशस्त्र प्रहरीले पनि एआईजी गणेश ठाडामगरलाई मधेश प्रदेशमा पठाएको छ।




















