कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा परी सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि त्यहाँस्थित नेपाली दूतावासले गरेको छ।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको उक्त आक्रमणमा परी निधन भएको हो। घटनाबारे कुवेतको विदेश मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।

राजदूतावासले तामाङको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। दूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाइने जनाएको छ।

यसैबीच, कुवेतमा रहेका सबै नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै मापदण्ड पूर्ण रूपमा पालना गर्न, संयमित रहन र सुरक्षित स्थानमा बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ।

juwat