सिरहाको गोलबजारमा बिहीबार भएको गोलीकाण्डपछि गोलबजार र लहान क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ। ठाउँ–ठाउँमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
गोली लागेर एक बालकको मृत्यु भएपछि थप अप्रिय घटना हुन नदिन गोलबजारको पूर्वी सीमा गागन खोलादेखि पश्चिमी सीमा चोहर्वासम्म सेना र प्रहरी परिचालन गरिएको हो। बजार क्षेत्रका सबै सहायक सडकमा सुरक्षा निकाय तैनाथ गरी प्रवेशमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयले गोलबजार र लहान क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्युलाई निरन्तरता दिइएको हो।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि सुरु भएको आन्दोलनका क्रममा बिहीबार अपराह्न गोलबजारको क्याम्पस चोकमा प्रहरीले चलाएको गोली लागेर सिरहाको औरही गाउँपालिका–२ निवासी करिब १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
घटनामा धनुषाका सुबोध ठाकुर र अर्का एक जना महन्थ लक्ष्मणदास घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।




















