कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
कर्णालीका प्रमुख यज्ञराज जोशीले एक समारोहकाबीच शाहलाई शपथ ग्रहण गराउने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा गरेको छ।
नेकपा एमाले र काँग्रेस गठबन्धनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि दुई वर्ष लामो एमाले काँग्रेस गठबन्धन टुटेको थियो भने सत्ताबाहिर रहेको नेकपाले सत्ताको नेतृत्व गर्ने भएको छ।
केन्द्रमा एमाले र नेकपाका शीर्ष नेताहरूबिच भएको सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीको नेतृत्व नेकपाले पाएको हो। संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए। प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाही कर्णालीको पाँचौँ मुख्यमन्त्री बनेका हुन्।



















