झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।
कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१–०१–००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका–९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
कार चालकले नै उनलाई सोही गाडीमा अस्पताल पुर्याएका थिए। शव सोही अस्पतालमा रहेको छ। कार र चालक झापा बुद्धशान्ति गाउँपालिका–२ बस्ने ४६ वर्षीय मदन प्रसाईँलाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।



















