नेपाल सरकारले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारले कुनै पनि समस्या वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ। साथै, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनाबाट प्रभावित नहुन नागरिकलाई अपिल गरेको छ।
सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सात दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेशसहित छानबिन समिति गठन गरेको छ। समितिले आफ्नो काम सुरु गरिसकेको विज्ञप्तीमा उल्लेख गरेको छ।



















