नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। 

सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले उनीहरूको रिहाइ तथा समस्या समाधानका लागि सरकारले व्यावहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो।

सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी फर्कने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेका थिए। उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन्।

कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक लाभका लागि नभई आफ्नै खेतीका लागि मल जोहो गर्न गएकाले उनीहरूलाई तस्करको रूपमा नहेर्न आग्रह गरेको छ। 

कांग्रेसले भारत सरकारसँग पनि नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, खुल्ला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राख्दै पक्राउ परेका किसानलाई रिहा गर्न र आवश्यक कानुबनी सहजीकरण गरिदिन अनुरोध गरेको छ।