विश्वकपमा चम्किएका केप भर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।

पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि ४० वर्षीय भोजिन्हा क्लबविहीन थिए। विश्वकपमा स्पेन र अर्जेन्टिनासँग उत्कृष्ट प्रदर्शन गरेपछि उनको चर्चा चुलिएको थियो।

कोलो कोलोका अध्यक्ष एनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गरेका छन्। 'भोजिन्हा अब कोलो कोलोका खेलाडी बन्नेछन्,' मोसाले भने, 'केही दिनमा उनी चिली आउनेछन्, नियमित स्वास्थ्य परीक्षणपछि मोनुमेन्टल रंगशलामा औपचारिक रूपमा सार्वजनिक गरिनेछ।'

चिलीको राजधानी सान्टियागोमा रहेको कोलो कोलो हाल शीर्ष डिभिजन लिगा डी प्रिमेराको शीर्ष स्थानमा छ। भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।