नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिक्मतकुमार कार्कीको विकल्प खोज्ने बारे छलफल भइरहेको छ। कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई एमालेले अगाडि सार्ने तयारी गरेको हो।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता समीकरण गर्ने टुङ्गो लागेपछि कोशीमा हिक्मतको विकल्प खोज्न लागेको बताइन्छ।
तिलकुमार आफू मुख्यमन्त्री बन्ने विषयमा लगभग सहमति जुटिसकेको दाबी गर्छन्।
“छलफल चलिरहेको छ छिट्टै नै टुङ्गो लाग्छ मलाई तयारी हुनुस् भनेको अवस्था देखिन्छ।” उनले भने,”म ढुक्क छु। चाँडै फाइनल हुन्छ।” केपी शर्मा ओली निकट रहेका हिक्मत कार्कीको विकल्प खोज्ने विषयमा नेतृत्व पनि लगभग सहमत रहेको बताइन्छ।
कोशीका सचेतक रमेश बस्नेत भने यसबारे अन्तिम टुङ्गो नलागिसकेको जानकारी दिन्छन्। मेनेङ्गो ताप्लेजुङका नेता हुन्। कोशीमा एमालेले भाग पाउने टुङ्गो भइसकेको छ।




















