सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन्।
पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले नेपाल टेलिकमलाई यस्तो निर्देशन दिएका हुन्।
त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्नसक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्।
मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिबद्धता जनाएको छ। टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाइ छ।
सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबारै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग कुन–कुन ठाउँमा कस्तो पूर्वाधार आवश्यक छ भनेर छलफल पनि गरेका थिए।
बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२०० मिटर उचाइ) मा फोरजी सेवा तत्काल गर्ने लक्ष्य राखेको छ। साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४ जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ।




















