मोरङको विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

बुधबार कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर–१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल, ८.४८ किलोग्राम गाँजा तथा ३ ग्राम ०७ मिलिग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ।

बरामद भएको कटुवा पेस्तोल र लागूऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।