अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकहरूलाई छुटाइदिने भनी ठगी गरेको आरोपमा हास्य कलाकार नारद खतिवडासहित तीनजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो।
अध्यागमन विभागको कालिकास्थानस्थित हिरासतमा ९ जना चिनियाँ नागरिक राखिएका छन्। विभागको नियन्त्रणमा रहेका १५ वटा राहदानीसमेत झिकाइदिने भनी उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ। उनीहरूले ७२ लाखको डिल गर्दै ९ लाख रूपैयाँ लिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेहरुमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन्।




















