सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीस्थित सडकखण्डमा सिम्ताबाट गुमीका लागि छुटेको क प्र ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।
गुर्भाकोट नगरपालिका–१३ सेराघारी बस्ने अन्दाजी ४३ वर्षीय गगन थापाले चलाएको उक्त गाडीमा चालकसहित २० जना सवार थिए। दुर्घटनामा चालकबाहेक १९ जना घाइते भएका हुन्।
घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।




















