धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बीपी प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलतर्फ लैजाने गतिविधिबारे प्राप्त सूचनाका आधारमा पक्राउ गरिएको हो। यस्ता बिचौलिया गतिविधि नियन्त्रण गर्न प्रशासनले निगरानी थप कडा बनाएको उनले बताए।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय हस्त श्रेष्ठ, धरान उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ बस्ने २९ वर्षीय सान्विन किराती छन्।
यसैगरी, धरान उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ४० वर्षीय उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ बस्ने ३५ वर्षीय धिरोज निरौला, सुनसरी इनरुवा नगरपालिका–२ बस्ने ३१ वर्षीय रोहित मेहता र धरान उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय विनोद भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ।
यसअघि मंगलबार प्रहरीले झापा दमक नगरपालिका–१ कुमालचोकका ४२ वर्षीय प्रवीण पोखरेल र सुनसरी हरिनगरा गाउँपालिका–४ का २७ वर्षीय दीपक रामलाई पक्राउ गरेको थियो।
उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















