सभामुख डोलप्रसाद (डीपी) अर्यालले एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति सदनबाट हटाउन निर्देशन दिएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा राईले सभामुखले ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेका थिए। 

त्यसपछि सभामुखले उनलाई बोल्न रोकेका थिए। सोही विवादका क्रममा राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए। सोही कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। 

त्यसपछि बसेको बैठकमा राईले आफ्ना कुरा राखे। अनि सभामुखले आजको बैठकमा राईले प्रयोग गरेको सम्पूर्ण शब्द हटाउन निर्देशन दिए। “माननीय सदस्य राजेन्द्रकुमार राईले यसअघि बोल्नेक्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु,” सभामुखले भने।