झापाको मेचीनगर नगरपालिका–३ भावना चोकमा आगलागी हुँदा एक घर र त्यससँगै जोडिएको गोठ जलेर करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज बिहान राति करिब १ बजे पूर्ण चन्द्र रिजालको इँटा र काठबाट बनेको टिनको छानो भएको दुई कोठे कच्ची घरमा अचानक आगलागी भएको थियो। आगोले घरसँगै टाँसिएको गोठसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

मेचीनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि बिहान २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घर आंशिक रूपमा क्षति पुगे पनि घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात, आधा तोला सुन, ५० हजार रुपैयाँ नगद तथा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।

प्रहरीका अनुसार आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।