प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले सभामुखलाई सम्बोधन गर्ने क्रममा ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक काटिएको छ।  

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा ढिलाइ भएको विषय उठाएका थिए। सम्बोधनकै क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक बन्द भएको हो। 

माइक काटिनु अगाडि खनालले लम्कीचुहा अस्पताललाई नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ जेठ २६ गते स्वीकृति दिएको भए पनि प्रदेश सरकार र स्थानीयले काम नगरेको भन्दै आक्रोस व्यक्ति गरेका थिए।

‘लम्कीचुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आईरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ। तर यो संचालनका लागि प्रतिपक्ष बेञ्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद खनालले भने, ‘यहाँ सदनमा तपाईंहरू पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफूह बेन्चमाथि उठनु हुन्छ, तर तपाईकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्की चुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरूले कहिले सदनमा बोल्नु हुन्छ। तपाईहरू सधै सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ। तपाईहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली कांग्रेस ?’

संघीय संसदमा  आदर्शका कुरा गर्ने कांग्रेस सांसदहरूले आफ्नै पार्टीको सरकारले प्रदेश र स्थानीय तहमा जनताको काम नगरेको विषय उठान नगरेको गुनासो पनि सांसद खनालले गरे।

‘एउटा काम गर्ने कर्मचारीले काम गर्न पाउँदैन। प्रादेशिक अस्पताल बनाउनुपर्छ भनिरहेको छ। तर बनिरहेको छैन। अनि यहाँ चाँही उहाँहरू आर्दशको कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली कांग्रेस खोज्न चाहन्छु– कांग्रेस कहाँ छ ? त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद लगायत अन्य क्षेत्रका कर्मचारीहरू पनि काँग्रेसबाट पीडित छन। त्यहाँको स्थानीय सरकारबाट पीडित छन्,’ उनले भने।