सुरक्षा निकायलाई पूर्वजानकारी नदिई वीरगन्जको सिर्सिया नाका छड्के अनुगमनमा पुग्नुभएका गृहमन्त्री सुदन गुरुङसमक्ष स्थानीयले सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी भइरहेको गुनासो गरेका छन्। रास्वपा महाधिवेशनपछि बारा र पर्साका नाका निरीक्षणमा निस्कनुभएका मन्त्रीसँग स्थानीय सुरेन्द्र र मुकेश साहले सशस्त्रको डिएसपीकै सेटिङमा सिसी क्यामेराकै आडबाट अवैध सामान भित्रिने गरेको दाबी गरे।
मास्क र चस्मा लगाएर गुप्त रूपमा पुग्नुभएका मन्त्री गुरुङले तस्करका सामान र सिसी क्यामेरा निगरानीबारे सोधपुछ गर्नुभएको भिडियो सार्वजनिक भएको छ। सुरक्षा अधिकारीहरूले भने यस छड्केबारे पत्तो पाएका थिएनन्।
शनिबार दिनभरी नाकाहरुको छड्के अनुगमनपछि उनी साझ साढे ५ बजेको अन्तिम फ्लाइटबाट सिमरा हुँदै काठमाडौं पुगेका छन्। सिमरा विमानस्थलमै उनले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, नेपाल र सशस्त्र प्रहरीका उपरीक्षकहरुलाई बोलाई सीमाबाट भइरहेको तस्करी नियन्त्रणका लागि कडा निर्देशन दिएका थिए।




















