अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को अनिश्चित कालिन निलम्बनमा परेको विषय संसद्मा उठेको छ। सत्तारुढ रास्वपाका सांसद श्रद्धा कुँवरले एन्फा निलम्बनमा जिम्मेवारहरूमाथि आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कुँवरले विश्वकप फुटबल चलिरहेको बेलामा नेपाली फुटबल निलम्बनमा पर्दा नेपालको शीर झुकेको बताइन्। 'विश्वसमुदाय फुटबल महोत्सव फिफा वर्ल्डकपको रौनकमा रमाइरहेको छ। हामी पनि आ-आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौं तर बिडम्बना यसै बेला आफ्नो देशको फूटबलको अवस्था सम्झदा हाम्रो शीर गर्वले होइन चिन्ताले झुक्न बाध्य भएको छ,' कुँवरले भनिन्, 'यस कार्यमा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइयोस्।'

सांसद कुँवरले एन्फा निलम्बनले नेपालका खेलाडी र राष्ट्रकै प्रतिष्ठामा आँच आएको बताइन्। नेपालमा प्रतिभाको अभाव नभई खेल प्रशासनमा सुशासन र पारदर्शिता तथा सक्षम व्यवस्थापनको अभाव रहेको उनको भनाइ थियो। 'सीमित स्रोत, साधनका बाबजुद पनि सावित्रा भण्डारी, प्रिति राई लगायतका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। तर दुःखको कुरा खेलाडीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार संकटमा पर्दै आइहरेको छ,' कुँवरले भनिन्।

एन्फ निलम्बनका पछाडि लामो समयदेखि हुँदै आएको कमजोरी रहेको पनि कुँवरले बताइन्। 'एकातिर घरेलु प्रतियोगिता लामो समयसम्म संचालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबलप्रतिको आकर्षण र उत्साह घट्दै गएको छ,' उनले भनिन्, 'अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन गर्दैन। यसका निश्चित मापदण्ड सूचक र प्रक्रिया हुन्छद्धन्। ती मापदण्डहरूको प्रावकारी कार्यान्वयन हुन नसकेपछि यस्तो परिणाम आएको हो।' यो अवस्था ल्याउने जिम्मेवार व्यक्तिहरूप्रति छानबिन गरी कानुनी कारबाही अगाडि बढाउनुपर्ने सांसद कुँवरको माग थियो।

सांसद कुँवरले भनिन्, 'नेपालको खेल क्षेत्रमा मडारिएको कालो बादल हटाउँदै पुनः आशा, भरोसा र उज्ज्वल भविष्यको सपना देख्नसक्ने वातावरण निर्माण गर्न सरकारले गम्भीरताका साथ आवश्यक पहल गरोस्।'