केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनको क्रममा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको विषय सेलाउन नपाउँदै पश्चिम नवलपरासीमा पनि यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी नेतृत्वको टोली बालमैत्री स्थानीय तह घोषणासम्बन्धी अनुगमनका क्रममा बिहिवार उक्त होटलमा खाना खान पुगेको थियो। खाना खाने क्रममा सागमा सङ्खे कीरा भेटिएपछि घटनाबारे जानकारी गराइएको थियो।

त्यसपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त अनुगमन टोलीले होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका खाद्य सामग्री तथा तयार पारिएका परिकारसमेत अस्वस्थकर र मापदण्डविपरीत रहेको भेटिएको प्रशासनले जनाएको छ।

खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना नगरेको निष्कर्षसहित रोयल कटेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।