विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाको मस्तिष्कमा रहेका दुईवटा जटिल ट्युमरको सफल शल्यक्रिया गरिएको छ। धनकुटाकी ती महिला विगत १० वर्षदेखि लगातार टाउको दुख्ने र रिङ्गटा लाग्ने समस्याबाट पीडित थिइन्।
विभिन्न अस्पतालमा उपचार र परीक्षण गराउँदा पनि समस्याको वास्तविक कारण पत्ता लाग्न सकेको थिएन। तर नोबेल शिक्षण अस्पतालमा गरिएको विस्तृत परीक्षणपछि उनको मस्तिष्कको दुवैतर्फ 'मेनिन्जियोमा' नामक दुईवटा ट्युमर रहेको पुष्टि भयो। तीमध्ये एउटा ट्युमर ७ सेन्टिमिटर र अर्को ४ सेन्टिमिटरको रहेको चिकित्सकहरूले बताएका छन्।
वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्लेको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब ६ देखि ७ घण्टा लामो शल्यक्रिया गरेर दुवै ट्युमर एउटै चरणमा सफलतापूर्वक निकालेको हो।
सामान्यतया यस्ता दुईवटा ट्युमर भएमा फरक–फरक समयमा शल्यक्रिया गर्ने अभ्यास रहे पनि नोबेल अस्पतालको टोलीले एउटै सेटिङमा दुवै ट्युमर हटाएर महत्वपूर्ण सफलता हासिल गरेको जनाएको छ।
शल्यक्रियापछि बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। उनी अहिले सामान्य रूपमा हिँडडुल गर्न, बोल्न र दैनिक गतिविधि गर्न सक्ने अवस्थामा पुगेकी छन्। उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्जसमेत गरिएको छ।
यस अवसरमा वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्लेले लामो समयसम्म लगातार टाउको दुख्ने, रिङ्गटा लाग्ने, छारे रोगका लक्षण देखिने वा शरीरको कुनै एक भाग कमजोर हुनेजस्ता समस्या देखिए त्यसलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन्।
उनका अनुसार सबै प्रकारका टाउको दुखाइ ब्रेन ट्युमरका कारण हुने भने होइन। तर यस्ता लक्षण लामो समयसम्म देखिएमा तत्काल न्यूरो सर्जनसँग परामर्श गरी सिटी स्क्यान वा एमआरआई परीक्षण गराउन आवश्यक हुन्छ। समयमै रोग पहिचान भए उपचार सफल हुने सम्भावना धेरै रहने डा. काफ्लेको भनाइ छ।












