झापाको बाहुनडाँगीका हात्तीपीडितले जंगलबाट आउने हात्ती धपाउन रबर बुलेट हान्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

झापाबाट विराटनगर आएर मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र पत्र बुझाउँदै संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गरेका हुन्।

पछिल्लो समय भारततर्फबाट आउने जंगली हात्तीले आक्रमण गर्दा मानिसको ज्यान समेत जान थालेको भन्दै पीडितले हात्तीलाई रबर बुलेट हानेर भगाउने प्रबन्ध गर्न माग गरेका हुन्। पीडितले प्रधानमन्त्रीलाई पनि जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र पठाएका छन्।

पीडित नागरिकले भारतबाट मानवबस्तीमा प्रवेश गर्ने जंगली हात्तीको आवतजावत तत्काल रोक्न, हात्तीलाई प्रचलित उपाय र आवश्यक परे रबरको गोलीको प्रयोगमार्फत जंगलतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। 

पूर्व–पश्चिम राजमार्गको मेची किनारदेखि कोसी टप्पुसम्म प्रस्ताव गरिएको वन्यजन्तु करिडोरको अवधारणा अव्यावहारिक र मानवबस्तीका लागि जोखिमपूर्ण रहेको भन्दै उक्त योजना तत्काल रोक्न पनि आग्रह गरिएको छ।