सडक पेटीमा आश्रित दृष्टिविहीनहरूलाई बलपूर्वक हटाउने र जबरजस्ती धरपकड गर्ने कार्य बढेपछि उनीहरू काठमाडौँ महानगरपालिका र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्। केही दिनयता राजधानीको माइतीघरमा उनीहरूले विरोध प्रदर्शन गर्दै आएका हुन्। 
‘घाम, पानी, धुलो, धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडक पेटी छोड्दैनौँ’ उनीहरूले भनेका छन्। सडक पेटी, मठमन्दिर र चोकहरूमा बसेर जीविकोपार्जन गर्न समेत नदिई नगर प्रहरीले दमन र धरपकड गरेपछि आन्दोलन सुरु गर्न बाध्य हुनु परेको उनीहरूको आरोप छ।