भक्तपुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। महोत्तरीको मिथिला नगरपालिका–९ घर भई भक्तपुरको नगरकोटमोडमा बस्दै आएका २८ वर्षीय आकाश रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार राति करिब १० बजे भक्तपुर नगरपालिका–१, नगरकोटमा युवाबीच झगडा हुँदा रसाइलीमाथि चक्कु प्रहार गरिएको थियो। घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा ल्याइएको थियो। उपचारका क्रममा मंगलबार बिहान ६ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१३ का ३१ वर्षीय आयुष कार्की, झापाको दमक नगरपालिका–३ का २७ वर्षीय दोर्जे शेर्पा र गुल्मीको तम्घासका ३५ वर्षीय रमेश कुँवर छन्। उनीहरू तीनैजना भक्तपुरको सल्लाघारीमा बस्दै आएका थिए।
घटनाबारे थप अनुसन्धान गरिएको नेपाल प्रहरीले जनाएको छ।




















