प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) लामो समयदेखि नवीकरण नभएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख परीक्षणका क्रममा उनले पछिल्लो पटक २०७१ पुस ६ गते आफ्नो ‘ए’ श्रेणीको लाइसेन्स जरिवानासहित नवीकरण गरेको र त्यसपछि पुनः नवीकरण नगरेको देखिएको स्रोतले जनाएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले उक्त विषयमा थप अध्ययन तथा तथ्य परीक्षण गरिरहेको छ। प्रहरी स्रोतका अनुसार उपलब्ध अभिलेखअनुसार लाइसेन्सको वैधता अवधि समाप्त भएपछि कानुनले तोकेको समयभित्र नवीकरण प्रक्रिया पूरा भएको देखिएको छैन।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ मा चालक अनुमति पत्रको वैधता र नवीकरणसम्बन्धी व्यवस्था गरिएको छ। सोही कानुनी प्रावधानका आधारमा साम्पाङको लाइसेन्सको वर्तमान कानुनी अवस्थाबारे अध्ययन भइरहेको महाशाखाका अधिकारीहरूले बताएका छन्। प्रहरीका एक अधिकारीका अनुसार, ‘यस विषयमा थप छानबिन र आवश्यक कानुनी परामर्शको प्रक्रिया जारी छ। अन्तिम निष्कर्ष त्यसपछि मात्रै आउनेछ।’ प्राप्त विवरणअनुसार साम्पाङले सन् २००६ मा इटहरीबाट सवारी चालक अनुमति पत्र प्राप्त गरेका थिए। पछिल्लो पटक सन् २०१४ (२०७१) मा नवीकरण गरिएको उक्त लाइसेन्सको म्याद सन् २०१६ (२०७३ पुस १२) मा समाप्त भएको देखिन्छ। त्यसयता नवीकरणको अभिलेख फेला नपरेको जनाइएको छ। कानुनअनुसार लाइसेन्सको म्याद सकिएपछि निश्चित अवधिभित्र जरिवाना तिरेर नवीकरण गर्न सकिने व्यवस्था छ। तर निर्धारित समयसीमाभित्र पनि नवीकरण नगरिए चालक अनुमति पत्रको कानुनी वैधतामाथि प्रश्न उठ्न सक्ने कानुनविद्हरू बताउँछन्। हाल सोही घटनासँगै लाइसेन्सको वैधता सम्बन्धी विषय पनि अध्ययनको दायरामा रहेको प्रहरीले जनाएको छ।