एआई प्रविधि प्रयोग गरिएको वीरताको कथा बोल्ने चिनियाँ मार्सल आर्ट (वुसाई) चलचित्र नेपालको  काठमाडौँ र पोखरामा प्रर्दशन सम्पन्न भएको छ। 
एआई प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर आयोजना गरिएको दोस्रो हिमालयन रिम फिल्म प्रर्दशनी अन्तर्गत नेपालको पोखरा र काठमाण्डौमा चिनियाँ मार्सल आर्ट (बुसिया) सँग सम्बन्धित चलचित्रको  प्रदर्शन सम्पन्न भएको हो। 
चिनियाँ भाषामा वुसिया चलचित्र भन्नाले मार्सल आर्ट, तरबारबाजी र वीरताको माध्यमबाट न्याय, नैतिकता र मानवीय मूल्यको रक्षा गर्ने नायकको कथा प्रस्तुत गर्ने चिनियाँ चलचित्र विद्या हो । 
आयोजकका अनुसार पोखरामा सम्पन्न कार्यक्रममा नेपाली विद्यार्थी, प्राध्यापक तथा फिल्मकर्मीलाई समकालीन चिनियाँ चलचित्र, विशेष गरी वुसिया (मार्सल आर्ट) संस्कृतिको विकास क्रम र आधुनिक प्रविधिसँग यसको अन्तरसम्बन्धबारे जानकारी गराइएको थियो। पोखरा र काठमाण्डौमा त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आयोजना भएको  विशेष चलचित्र प्रदर्शनीमा चलचित्र र साँस्कृति सम्बन्धबारे अन्तरक्रिया, व्याख्यान तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। 
दोस्रो हिमालयन रिम फिल्म प्रर्दशनीका क्रममा काठमाडौँको त्रिभुवन विश्वविद्यालयमा ’लेजेन्ड्स अफ द कन्डोर हिरोजः द ग्यालेन्ट्स’ र ’ब्लेड्स अफ द गार्डियन्सः विन्ड राइजेस इन द डेजर्ट’ चलचित्र प्रदर्शन गरिएको थियो। पर्दशनीकै क्रममा सम्पन्न भर्चुअल अन्तरक्रियामा चिनियाँ युवा लेखक वेन जियरले जिन योङकाले साहित्य, वुसिया कथाको नैतिक पक्ष, साहित्यबाट चलचित्रमा हुने रूपान्तरण तथा समकालीन समाजमा वीरताको अवधारणाबारे धारणा राखेका थिए। 
कार्यक्रममा सहभागी विद्यार्थी तथा प्राध्यापकहरूले चिनियाँ वुसिया कथामा प्रस्तुत हुने न्याय, साहस र मानवीय मूल्य नेपाली कला तथा संस्कृतिमा पाइने प्रकृति र मानवबीचको सहअस्तित्वको भावनासँग मेल खाने धारणा व्यक्त गरेका थिए। बेइजिङ नर्मल विश्वविद्यालयका प्राध्यापक झाङ यानले चिनियाँ मार्सल आर्ट चलचित्रको विकास र विश्वव्यापी प्रभावबारे व्याख्यान दिएका थिए।
यसैगरि पोखरा विश्वविद्यालयमा भएको प्रदर्शनीमा संस्थापक ह्वाङ जुनयानले हिमालय क्षेत्रका मुलुकबीच सांस्कृतिक सम्बन्ध विस्तारका लागि फिल्म प्रभावकारी माध्यम बन्न सक्ने बताइन। अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयका सहप्राध्यापक मा रुइछिङले ’वुसिया सिनेमादेखि एआई बजारसम्म’ विषयमा छलफल सञ्चालन गरेका थिए। चीनको प्रतिष्ठित एआई कम्पनीका विज्ञ रायनले कृत्रिम बुद्धिमत्ताले फिल्म निर्माण, सम्पादन, वितरण र बजार व्यवस्थापनमा ल्याइरहेको परिवर्तनबारे प्रस्तुति दिएका थिए। 
पोखरामा सम्पन्न प्रदर्शनीमा ’द मास्टर’ र ’आई एम ह्वाट आई एम–२’ चलचित्र पनि प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि निर्देशक स्युहाओफेङ र सहनिर्माता ली यिलिनले भर्चुअल माध्यमबाट दर्शकसँग अन्तरक्रिया गर्दै चिनियाँ चलचित्रको अन्तर्राष्ट्रिय बजार, मार्सल आर्ट सौन्दर्यशास्त्र तथा एनिमेसनको सम्भावनाबारे विचार राखेका थिए। पोखरामा आयोजित प्रर्दशनीमा पनि फिल्म प्रदर्शनसँगै आयोजित ’वुसिया फेयर’, परम्परागत हस्तकला कार्यशाला तथा एआई प्रविधिबाट तयार गरिएको प्रदर्शनीको आधिकारिक गीत ’द एन्डलेस राइड’ सार्वजनिक गरिएका थिए।      
काठमाडौँ र पोखरामा भएको दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनीले चिनियाँ वुसिया संस्कृतिलाई नेपाली दर्शकमाझ परिचित गराउनुका साथै नेपाल र चीनका फिल्मकर्मी, विद्यार्थी तथा युवा सर्जकबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ। यसैले चलचित्र, प्रविधि र संस्कृतिलाई एउटै मञ्चमा जोड्ने यस कार्यक्रमले भविष्यमा एसियाली चलचित्र उद्योगबीच थप सहकार्य र सांस्कृतिक आदानप्रदानको सम्भावना बलियो बनाएको विश्वास आयोजकको छ।