मोरङको बूढीगंगा गाउँपालिका–५ मा सञ्चालित स्वास्तिक ओयल इण्डष्ट्रिज प्रालिमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। बुधबार साँझ भएको आगलागीबाट उद्योगमा जडान गरिएका विभिन्न उपकरण तथा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साँझ करिब ५ बजेतिर उद्योगको माथिल्लो तलाबाट आगो देखिएको थियो। तेल उत्पादन प्लान्टमा अत्यधिक तापक्रम बढेपछि आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, आगलागीको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक खड्ग राईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उद्योगका कामदार, दुहबी नगरपालिकाको दमकल तथा विराटनगर महानगरपालिकाको दमकल परिचालन गरिएको थियो।
संयुक्त प्रयासपछि करिब एक घण्टापछि साँझ ६ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। समयमै दमकल र सुरक्षाकर्मी परिचालन गरिएकाले आगो अन्य संरचनामा फैलिन नपाएको बताइएको छ।
आगलागीबाट तेल उत्पादन प्लान्टमा प्रयोग भइरहेका विभिन्न मेसिन, विद्युत् वायरिङ, इन्सुलेसन सामग्री, जस्तापातालगायतका सामग्री जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति वा घाइते हुने अवस्था भने नभएको पुष्टि भएको छ। आगलागीको थप विवरण संकलन गरेर घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




















