मोरङ। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोग तथा बुढीगंगा गाउँपालिका–४, हातिमुडा, प्रगतिटोलस्थित उत्पतिका भजन कीर्तन सेवा मञ्च मोरङको आयोजनामा बुढीगंगा–४ स्थित पोठिया आधारभूत स्वास्थ्य सेवा केन्द्रको प्राङ्गणमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

२०८३ साल जेठ २९ गते आयोजित शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमार्फत कुल २७५ जना सेवाग्राहीले निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

शिविरमा स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, ग्यास्ट्रोएन्टेरोलोजी सेवा, रेडियोलोजी सेवा, प्रयोगशाला परीक्षण (रगत तथा अन्य आवश्यक जाँच), पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) परीक्षण तथा स्तन क्यान्सर परीक्षण सेवा उपलब्ध गराइएको थियो।

विशेषगरी महिलाहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक परीक्षणलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ। साथै, विभिन्न स्वास्थ्य समस्याबाट पीडित स्थानीयवासीले विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिने अवसर पनि पाएका थिए।

आयोजक संस्थाले समुदायसँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्‍याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ। यस्ता निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण क्षेत्रका नागरिकलाई समयमै रोग पहिचान, उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।