रास्वपा सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्परारको अन्त्य हुनुपर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसद आचार्यले सांसदहरूले शून्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टि जनाउँदै ‘शून्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरेका हुन्।

‘यदि यो शून्य समयमा हामीले बोलेका कुरा सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शून्य समय होईन पूर्ण समय भनौँ। यदि जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दा जति बोले पनि शून्यमा शून्यसरी बिलाएर जाने हो भने यसको नाम शून्य समय होइन, ब्ल्याक होल समय राखौँ,’ उनले भने। 

शून्य समयमा उठेका विषय अभिलेखमा मात्रै सीमित नगर्न पनि सांसद आचार्यले आग्रह गरे। 'ती विषय तत्काल सम्बन्धित मन्त्रालयमा पठाइयोस्, निश्चित समयभित्र कार्यन्वयनको प्रगति सांसदलाई जानकारी गराइयोस्। सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ। यो समय शून्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ,' उनले भने। 

बैठकमा उनले शून्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताए।