नेपाली कम्युनिष्ट पार्टीका संयोगक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा चुनौती उत्पन्न गरिरहेको बताएका छन्।
संयोजक ‘प्रचण्ड’ले आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकार दुई तिहाइ बहुमतको आडमा नागरिक स्वतन्त्रता सीमित गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए।
उनले संसद् सञ्चालनसम्बन्धी प्रक्रियामा सरकारले अपनाएको शैलीप्रति पनि असन्तुष्टि जनाए। संसद् बैठक आह्वान गरिसकेपछि त्यसलाई स्थगित गरेर अध्यादेशमार्फत काम अघि बढाउनु लोकतान्त्रिक अभ्यास अनुकूल नभएको उनको भनाइ थियो। यस्ता कदमप्रति बुद्धिजीवी तथा सर्वसाधारण तहबाट समेत प्रश्न उठिरहेको उनले उल्लेख गरे।
ट्रेड युनियनसम्बन्धी विषय, विद्यार्थी संगठनमाथिका प्रतिबन्धलगायतका गतिविधिले सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट टाढिँदै गएको संकेत गरेको ‘प्रचण्ड’को धारणा थियो।
उनले आफ्नो पार्टी सरकारका सकारात्मक तथा जनहितका काममा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका विषयमा भने निरन्तर खबरदारी गरिरहने बताए।
सरकारको नियत र कार्यशैलीप्रति शंका व्यक्त गर्दै उनले नागरिक अधिकार प्रभावित हुने प्रकृतिका कदमलाई समर्थन गर्न नसकिने स्पष्ट पारे।
प्रदेश सरकार पुनर्गठनका विषयमा विभिन्न दलबाट सहकार्यका प्रस्ताव आएको जानकारी दिँदै प्रचण्डले आफ्नो पार्टी तत्काल प्रदेश सरकार परिवर्तनको पक्षमा नरहेको बताए। उनका अनुसार कतिपय प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा कतिपय स्थानमा नेपाली काँग्रेस बाट सहकार्यको प्रस्ताव आए पनि त्यसलाई अस्वीकार गरिएको छ।
उनले सबै प्रमुख दल र मधेसकेन्द्रित शक्तिहरूको सहभागितामा साझा सरकार गठन गर्ने विषयमा सहमति भए आफ्नो पार्टी सकारात्मक रहने धारणा समेत व्यक्त गरे।




















