नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। कोरला नाकाबाट शंकास्पद रूपमा लुकाई छिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट (भेप) फेला परेको हो।
कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट ‘लोड’ गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरला नाकामा रोकिएका थिए।
शनिबार सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुई वटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो।
मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाई छिपाई विद्युतीय चुरोट (भेप) लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो। भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ। उक्त सङ्ख्याका आधारमा दुई वटा ट्रकमा करिब एक लाख २० हजार बढी विद्युतीय चुरोट (भेप) रहेको भन्सार कार्यालयले जनाएको छ।




















