कृषि, वन तथा वातावरण मन्त्रालयले रासायनिक मल आयातकर्ता तथा वितरकहरूलाई नियमनसम्बन्धी आदेशमा तोकिएका प्राविधिक मापदण्ड र स्पेसिफिकेसन अनुसार मात्र मलको कारोबार गर्न स्पष्ट निर्देशन दिएको छ।

मन्त्रालयले रासायनिक मल नियन्त्रण आदेशका प्रावधान विपरीत हुने गरी गलत विवरण प्रस्तुत गर्ने, लेबलमा भ्रामक सूचना राख्ने वा मिश्रण गरी बिक्री-वितरण गर्ने कार्य नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ। साथै, सरकारले अनुदानमा उपलब्ध गराएको मलको अवैध बिक्री वा कालोबजारी गर्ने जो-कोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

मन्त्रालयका अनुसार मलमा हुनुपर्ने तत्वीय संरचना, न्यूनतम तथा अधिकतम पोषक तत्त्वको मात्रा तथा भौतिक–रासायनिक गुणस्तर निर्धारण गरिएका मापदण्ड पूरा भएको उत्पादन मात्र आयात तथा वितरण गर्न पाइने व्यवस्था रहेको छ।

यसैबीच, मन्त्रालयले किसानहरूलाई मल खरिद गर्दा आधिकारिक बिक्री केन्द्र वा डिपोमार्फत मात्र लिन आग्रह गरेको छ। यसका लागि कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड का बिक्री कार्यालय तथा डिपो वा आधिकारिक रूपमा दर्ता भएका डिलरहरूलाई मात्र विश्वसनीय स्रोतका रूपमा प्रयोग गर्न सुझाव दिइएको छ।

मन्त्रालयले बजारमा उपलब्ध रासायनिक मल खरिद गर्दा यसको मूल्य, स्रोत र गुणस्तरबारे विक्रेतासँग आवश्यक जानकारी लिएर मात्र सुनिश्चिततापूर्वक खरिद गर्न किसानहरूलाई आग्रहसमेत गरेको छ।