श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो सरकार भन्दै प्रश्न गरेका हुन्।
‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ। तर सरकार किन मौन छ ?’ उनले प्रश्न गरे। उनले नेपाली सेनालाई सीमा रक्षामा गर्नुको साटो सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै पठाएको आरोप लगाए।
उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षामा पठाइयो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै देश बचाउन नसक्नु, जनताको बस्तीमा आगो लगाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ।’
आज देश अभिभावकविहीन बन्न पुगेकाले लाखौं सुकुम्बासीलाई बेघर बनाएर रुवाउने वा आत्महत्या गर्न बाध्य गराउने सरकार असफल भइसकेको महसुस भएको उनले बताए।




















