श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन किरातीबीच एकताको सैद्धान्तिक सहमति भएको छ।
हर्क र सुदनबीच विभिन्न चरणमा भएको छलफलले गएराति एकताको रुप लिएको हो। सहमति अनुसार सुदनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ।
एकताबारे आज दिउँसो ३ बजे बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन गरी जानकारी गराइने सुदनका सहयोगी हेमन्त किरातीले जानकारी दिए।
उनीहरुबीच वैचारिक र सैद्धान्तिक विषयमा भने छलफल जारी रहेको बताइएको छ।
पूर्वमाओवादी नेतासमेत रहेका किराती नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका थिए।
गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि उनले प्रलोपाको साधारण सदस्यता समेत त्यागेका थिए। त्यसमा उनी पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए।




















