प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक बस्दै छ। बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ।
संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बताइएको छ।
बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मङ्गलवार जारी गरे लगत्तै परिषद्को बैठक बोलाइएको हो।
यो अध्यादेश जारी भएसँगै ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्नका लागि गणपूरक सङ्ख्या चार कायम गरिएको छ। यो अवस्थामा संवैधानिक परिषद्का तीन जना सदस्यको बहुमतमा प्रधानमन्त्री बालेन्द्र शाहले निर्णय गराउन सक्नेछन्।
राष्ट्रपति पौडेलले सरकारले अघिल्लो साता सिफारिस गरेको त्यही अध्यादेश सरकारलाई पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए। तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः पठाएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका थिए।




















