राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा दलीय आधारमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्।
“जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरे। २५ सयभन्दा बढी युवाहरू घाइते भए। अपांग भए। राष्ट्रसेवक प्रहरीको घाँटी रेटीरेटी क्रूरतापूर्वक हत्या भयो। निष्पक्ष छानबिन भएर कारबाही होस्, म यो सरकारलाई यो अपिल गर्न चाहन्छु,” शाहीले थपे।
तत्कालीन सरकारको घमण्डले देश नै अशान्तिको ज्वालामा होमिएको उनले टिप्पणी गरे। “अघिल्लो सरकारको घमण्डले सरकार मात्रै ढलेन, देश नै अशान्तिको ज्वालामा होमियो। सिंहदरबार जले, भौतिक संरचनाहरू ढले। संसद् भवन समेत जल्यो,” उनले भने।
उनले अगाडि भने, “आज एउटा बैठक कक्षलाई संसद् भवन मानेर कार्य सञ्चालन गरेका छौँ। यो अहिलेको सरकारलाई हेक्का रहोस्।”




















