सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।

जनमत पार्टीका अध्यक्षसमेत रहेका राउतले आइतबार सामाजिक सञ्जालमार्फत अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।

उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।

राउतले २०७५ सालमा स्वतन्त्र मधेश गठबन्धनलाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान समेत रोक लगाएको अवस्थामा नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।