राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ।
आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए। उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समय सीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए।
उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु ४ जना गरी कुल ५७ जना समावेश छन्। उक्त सूचीमा कानुनी प्रावधानअनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको उनले जानकारी दिए।
उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको थियो। समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली निर्वाचन आयोगलाई उपलब्ध गराउने निर्णय गरेका छौँ। आज नै तोकिएको समय सीमामा नै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ५७ जनाको नामावली बुझाउने निर्णय गर्‍यौँ। जसअन्तर्गत खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना, थारु ४ जना गरी ५७ जना र यसमा विधिले माग गरे बमोजिम ४८ जना महिला र ९ जना पुरुष रहनु भएका छन्।’
प्रवक्ता झाले नामावली निर्वाचन आयोगको कार्यालयमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नामहरु सार्वजनिक गर्ने बताए। ‘राजनीतिक तथा कानुनी प्रक्रिया अन्तर्गत आयोगले अनुमोदन नगरेसम्म ती नामहरू हाम्रो तर्फबाट प्रस्तावित सूची मात्र हुने भएकाले आयोगले सार्वजनिक गर्ने निर्णयको प्रतीक्षा गर्ने छौँ,’ उनले भने। स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए।