राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतका कार्यवाहक सभापति जगत बस्नेत र कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रकला विक नेपाली कांग्रेस प्रवेश गरेका छन्।
उनीहरूलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीमा स्वागत गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा जिल्ला तहकै कार्यवाहक सभापतिले पार्टी छाडेपछि सुर्खेतमा रास्वपालाई धक्का लागेको छ।
कांग्रेस प्रवेश गर्दै विकले रास्वपा भ्रष्टाचार अन्त्य र सुशासनको एजेन्डासहित स्थापना भए पनि पछिल्लो समय पार्टीभित्र अपारदर्शिता बढ्दै गएको आरोप लगाइन्।
उनले भनिन्, “आगामी निर्वाचनका लागि अर्ली इलेक्सनमा उठाइएको ५० हजार र प्रत्यक्ष निर्वाचनमा लिइएको २५ हजार रुपैयाँको लेखाजोखा न प्रदेश समितिले दिन सकेको छ, न त जिल्लाले नै। यस विषय अझै स्पष्ट हुन सकेको छैन।”
बस्नेत र विकले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्यमान्यता र विकासको एजेन्डा अघि बढाउन रास्वपा असंक्षम देखिएकाले समयमै सचेत हुन आवश्यक रहेको बताए।
कांग्रसका उपसभापति शर्माले लोकतन्त्र सुदृढीकरण, सुशासन र जनताका मुद्दामा केन्द्रित भएर अघि बढ्न कांग्रेस प्रतिबद्ध रहेको धारणा राखे।




















